कतारमा यसरी ‘दास’ बनाइँदैछ नेपाली कामदार

http://3.bp.blogspot.com/-dLziBAO-Wd8/UkVQcWOnpNI/AAAAAAAACAg/6EqeQ5haiUI/s1600/dath-qatar.jpgकतारलाई ‘खुला जेल’ भन्दै त्यहाँ नेपाली कामदारलाई दासको शैलीमा राखिएको टिप्पणी गरेपछि अन्ततः कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मा पदबाट बर्खास्त हुनुपर्‍यो । तर, नेपाल सरकारले आफ्ना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिरहँदा अन्तराष्ट्रिय सञ्चारमाध्यमले त्यहाँ कुन हदसम्म नेपाली कामदारको शोषण भइरहेको छ र कसरी नेपालीहरु नारकीय जीवन जिउन बाध्य छन् भन्ने गम्भीर तथ्य सार्वजनिक गरिदिएका छन् ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक यस्तो तथ्यले मायाकुमारीको भनाइलाई पुष्टीमात्र गर्दैन, ९ वर्षपछि हुन लागेको विश्वकप आयोजनाका नाममा कतारले नेपाली श्रमिकमाथि कुन हदसम्मको शोषण गरिरहेको छ भन्नेसमेत प्रष्ट पारेको छ । सन् २०२२ को विश्वकप फुटबलको आयोजना गर्न लागेको कतारमा विश्वकपको तयारीका लागि भौतिक पूर्वाधारका निर्माणका क्रममा दर्जनौँ नेपालीले ज्यान गुमाएका छन् । बेलायती पत्रिका ‘द गार्जियन’का अनुसार पछिल्ला हप्ताहरुमा कतारमा दर्जनौँ नेपालीको मृत्यु भएको छ भने हजारौँ नेपालीमाथि श्रम शोषण तथा दुव्र्यवहार हुने गरेको छ । यो गृष्मयाममा कतारमा हरेक दिनजसो कम्तिमा एकजना नेपाली कामदारको ज्यान जाने गरेको र त्यसरी ज्यान गुमाउनेमध्ये अधिकांश नेपाली कामदार युवका अकस्मात हृदयाघातको शिकार हुने गरेको पाइएको छ । गार्जियनका अनुसार कतारमा विदेशी कामदारको सबैभन्दा ठूलो हिस्सा ओगट्ने नेपाली कामदारहरुले त्यहाँ ठूलो शोषण भोगिरहेका छन् र त्यो अन्तरराष्ट्रिय श्रम संगठनको परिभाषाअनुसारको आधुनिक मानव सभ्यताको दासत्वको श्रेणीमा रहेको छ । दोहास्थित नेपाली दुतावासले उपलब्ध गराएको दस्तावेजको हवाला दिँदै गार्जियनले जुन ४ देखि अगष्ट ८ को बीचमा ४४ जना नेपाली कामदारको ज्यान गएको र त्यसमध्ये आधाको मृत्यु हृदयाघात, मुटु फेल हुने तथा कार्यस्थलमा हुने दुर्घटनाका कारण भएको जनाएको छ । गार्जियनका अनुसार कतारमा नेपाली कामदारमाथिको शोषणका अन्य भयावह तथ्य यस्ता छन् : · विश्वकप फुटबल पूर्वाधार परियोजनामा ठूलो संख्यामा नेपाली कामदारलाई बलजफ्ती श्रममा लगाइएको छ । · धेरै श्रमिकलाई लामो समयदेखि तलब दिइएको छैन र धेरैले काम छाडेर भाग्ने डरले तलब दिनमा आलटाल गरिएको छ । · कतिपय रोजगारदाताले आफुहरुको पासपोर्ट कब्जामा लिने गरेको र परिचयपत्र समेत नदिने गरेको तथा आफुहरुलाई अवैध कामदार बनाउने प्रयास गरेको पनि नेपाली कामदारले गुनासो गर्ने गरेका छन् । · कतिपय कामदारलाई पर्याप्त पानी पिउन पनि दिइएको छैन । मालिकको अत्याचार सहन नसकेर झण्डै ३० जना नेपाली शरण माग्दै दोहास्थित नेपाली दुताबासमा पुगेका छन् । विश्वकपको निहुँमा बधुँवा कतारमा नेपाली कामदारमाथि भएको यस्तो शोषण खेलकुदको निहुँमा विश्वको सबैभन्दा धनी देशले विश्वको सबैभन्दा गरीब मध्येको एक देशमाथि गरेको शोषणको रुपमा रहेको गार्जियनले टिप्पणी गरेको छ । हामीले यहाँको काम छाड्न चाहन्छौँ तर कम्पनीले हामीलाई बाहिर निस्कन दिँदैन, लुसेल सिटी विकाश परियोजनामा कार्यरत एक नेपाली कामदारले भने । उक्त शहर पुनर्निर्माणको परियोजना ४५ अर्ब डलरमा भैरहेको छ, जहाँ ९० हजार दर्शक क्षमताको एक रंगशाला समेत बन्दैछ, जसमा सन् २०२२ को विश्वकप फुटबलको फाइनल खेलको आयोजना हुनेछ । नेपाली कामदारले यस्तो शोषणबाट आफुहरु आक्रोषित भएको र आफुलाई बाँच्नैका लागि कतार आएकोमा पश्चाताप भएको बताएका छन् । सन् २०२२ को विश्वकप फुटबल आयोजक समिति कतार २०२२ सर्वोच्च समितिले विश्वकप फुटबललाई प्रत्यक्ष रुपमा लक्षित गरिएका काम अझै सुरु भैनसकेका दाबी गरेको छ । तथापि लुसेल सहर परियोजना क्षेत्रमा ठेकेदारहरुमाथि लगाइएको आरोपका विषयमा भने गम्भीरतापूर्वक मनन गरिने बताएको छ । साथै उसले यस बारेमा सम्बन्धित सरकारी अधिकारीहरुलाई छानविनका लागि जानकारी गराइसकेको पनि जनाएको छ । परियोजना निर्माणमा खटिएका कामदारहरु फोहर होस्टेलहरुमा कोचाकोच भएर बस्न बाध्य भएको र एउटा कोठामा १२ जनासम्म बस्ने गरेको गार्जियनले जनाएको छ । कतिपय कामदारलाई तलबै नदिएर मगन्ते बनाइएको छ । आफुहरु २४ सैँ घण्टा खाली पेट हुन बाध्य भएको भन्दै १२ घण्टा खाली पेटमा कडा श्रम गर्ने र भोकै पेटमा सुत्ने गरेको नेपाली कामदार रामकुमार महराले बताएका छन् । आफुले यस विषयमा गुनासो गर्दा व्यवस्थापकले आफुमाथि आक्रमण गरेको, त्यसपछि आफुलाई निकाला गरेको, तलब नदिएको र आफुले अरु सहकर्मीसँग मागेर खान बाध्य भएको उनको भनाइ कतारका लागि निवर्तमान नेपाली राजदुत माया कुमारी शर्माले कतारलाई एक खुल्ला जेल भनेर टिप्पणी गरेको सन्दर्भ उल्लेख गर्दै गार्जियनले कतारमा भएको यस्तो शोषण आधुनिक मानव सभ्यताको दासत्व भएको जनाएको छ । दासत्व विरुद्धको अन्तराष्ट्रिय संस्थाका निर्देशक एडन म्याक क्वेडले पछिल्ला तथ्यहरुले कतारमा श्रृंखलाबद्ध बलजफ्ती श्रम भैरहेको पुष्टी गरेको बताएका छन् । यो बलजफ्ती श्रम मानव दासत्वको चरणमा पुगिसकेको र कतारमा विश्वकप तयारीका लागि यस्तो दासत्वको प्रयोग गरिसकिएको उनको भनाइ छ । कतारमा आगामी विश्वकप फुटबलका लागि निर्माण गर्न लागिएका विभिन्न परियोजनामा १५ लाख भन्दा बढि विदेशी कामदार छन् । कतारमा रहेका विदेशी कामदारमध्ये ६० प्रतिशत नेपाली छन् । गएको वर्ष मात्र १ लाख जना नेपाली युवा कामका लागि कतार गएका थिए । कामदारको मूलुकका दलाल तथा कतारी श्रम ठेकेदारहरुका कारण कतारमा विदेशी श्रमिक शोषणको जोखिममा परेका हुन् । यद्यपि विश्वकप आयोजकले भने परियोजना निर्माणका क्रममा कामदारको मापदण्ड निर्धारण गरिने बताएको भएपनि परियोजना व्यवस्थापको जालो, निर्माण कम्पनी, श्रमिक आपूर्तिकर्ता, श्रम ठेकेदार तथा एजेन्टहरुका कारण यस्तो विषय जटिल बनेको छ । विश्वकप फुटबलका संरचना निर्माणका लागि कतारले १ खर्ब डलर खर्च गर्नेछ । लुसेल सहर निर्माण परियोजनाको परामर्शदाता बेलायती कम्पनीले भने परियोजना निर्माणका क्रममा बलजफ्ती श्रम तथा मानव तस्करी लगायतका गलत काम प्रति शुन्य सहनशीलता अपनाइने जिकिर गरेको छ । तर, त्यहाँ कार्यरत नेपाली भने दिनदिनै दयनीय अवस्थामा पुगेका छन् । त्यहाँका धेरै नेपाली कामदारले काम छाड्लान् भन्ने आशंकामा दुई महिनाको तलब दिइएको छैन । कतारको कफाला प्रणालीअन्तरगत विदेशी कामदारले प्रायोजक कम्पनीको अनुमतिविना काम परिवर्तन गर्न तथा देश छाड्न नपाउने भएको हुँदा शोषणमा परेका नेपाली कामदारको अवस्था झनै चिन्ताजनक बनेको गार्जियनले जनाएको छ । कतारी श्रम मन्त्रीले तातो मौसममा काम गर्ने श्रमिकको हितमा कडा नियम बनाइउको र उनीहरुलाई उचित पारिश्रमिकका लागि समेत कडा कानून रहेको दाबी गरेका छन् । छानविन गर्ने कतारको प्रतिबद्धता विश्वकप आयोजक कतारले नेपाली कामदारलाई ‘दास’ जस्तो बनाएको समाचार सार्वजनिक भएपछि छानविन गर्ने बताएको छ । बेलायती पत्रिका गार्जियनले कतारमा पुगेर अनुसन्धानात्मक रिपोर्ट तयार पारेको थियो । रिपोर्ट सार्वजनिक भएपछि फिफाले आफु धेरै चिन्तत भएको बताएको छ । प्रतियोगिताको आयोजकले भने रिपोर्टबारे छानविन गर्ने बताएका छन् । उसले भनेको छ-’कतारमा कुनै पनि कारदारलाई यस्तो व्यवहार गर्ने छुट छैन ।’ उसले विश्वकपका लागि आवश्यक भौतिक संरचना निर्माणका कार्यरत मजदुरको स्वास्थ्य, सुरक्षामा आफूहरु प्रतिवद्ध रहेको बताएको छ । गार्जियनले गरेको अध्ययनका क्रममा जुन ४ देखि अगष्ट ८ सम्ममा कार्यरत क्षेत्रमा भएको दुर्घटनाको क्रममा कम्तिमा ४४ कामदारको मृत्यु भएको, नेपाली कामदारलाई समयमा तलव नदिएको, राहदानी लिएको र बहिर जान नदिएका लगायतको सार्वजनिक भएको थियो ।
भिडियो हेर्नको लागी तलको बक्समा डबल क्लीक गर्नुहोला ! ! ! 

0 comments

Write Down Your Responses