अमेरिका जाने डिभी चिट्ठा कसरी भर्ने ?

काठमाडौं, असोज ९ – सुविधासम्पन्न देश अमेरिका जाने र उतै बस्ने मोह धेरैलाई हुन्छ । यसैले पनि अमेरिका जान डिभी भर्नेको संख्या वर्षेनी बढ्दो छ ।

सर्वसाधारणदेखि उच्चपदस्थ कर्मचारीले पनि डिभी भर्ने गरेका छन् । तर बेलैमा ध्यान नपुर्‍याए डिभी परेर अमेरिका जाने सपना चकनाचुर हुन सक्छ ।



डिभी पर्ने आश्वासन दिएर खुलेका कन्सल्टेन्सी तथा इन्स्टिच्युटले मनपरी शुल्क लिएर ठगी गर्न थालेकाले सावधानी अपनाउन नेपालमा रहेको अमेरिकी दुतावासले आग्रह गरेको छ । दुतवासले डिभी भर्न कुनै शुल्क नलाग्ने पनि स्पष्ट पारेको छ ।

दूतावासका अनुसार www.dvlottery.state.gov मा लगअन गरेर निःशुल्क आवेदन फारम भर्न सकिन्छ ।

दुतावासले आउने मंगलबारदेखि कात्तिकको १६ गतेसम्म आवेदन फारम भर्न सकिने जनाएको छ । डिभी भर्न कुनै परामर्शदाताको सहयोग नलिन दूतावासले भनेको छ । डिभी खुल्ने बित्तिकै थुपै्र परामर्शदाताहरुले डिभी पर्ने आश्वासनमा विज्ञापन गर्न थालेपछि दुतावासले सचेतना अपनाउन भनेको हो ।

आवेदन फारममा स्पष्ट रुपमा मागेका सबै विवरण भर्न पनि सुझाइएको छ । दुतावासका अनुसार स्पष्ट रुपमा विवरण उल्लेख नगरे फारम रद्द हुनेछ । उसले परिवारका एक सदस्यलाई मात्र डिभी भर्न पनि आग्रह गरेको छ ।

डिभी परे/नपरेको स्पष्ट जानकारी कन्फर्मेसन लेटरबाट मात्र थाहा पाइने भएकाले डिभी भरेपछि २०१५, जुन १५ सम्म यो लेटर सुरक्षित राख्नुपर्नेछ । डिभीको नतिजा २०१४ मे १ तारिखमा हुनेछ ।

चिठ्ठा पर्दैमा ढुक्क नहुनोस्

दूतावासले डिभी पर्दैमा ढुक्क नहुन पनि आग्रह गरेको छ । डिभी पर्दैमा अमेरिका जाने ग्यारेन्टी नहुने भन्दै दुतावासले विश्वस्त नहुन भनेको हो ।

दूतावासले योग्य व्यक्तिलाई मात्र जाने अवसर दिने स्पष्ट पारेको छ । अमेरिका लैजाने कोटा निश्चित हुने भएकाले डिभी परेका सबै जना अमेरिका जान पाउँदैनन् । निश्चित विजेतालाई मात्र अन्तरवार्तामा बोलाईन्छ ।

अन्तरवार्तामा कन्सुलर अफिसरले अमेरिका पठाउने वा नपठाउने निश्चित गर्नेछन् । डिभी भर्नका लागि कक्षा १२ उत्तिर्ण अनिवार्य छ । अमेरिकी सरकारले भिसा मात्र दिने हो बाँकी सबै तयारी र खर्च व्यक्ति स्वंयले गर्नुपर्छ ।

0 comments

Write Down Your Responses